Karnali Academy of Health Sciences (KAHS)

Jumla, Karnali, Nepal

News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ ईएनटी सेवाबाट १,०३७ नागरिक लाभान्वित, ४३ जनाको शल्यक्रिया

Published on : Nov 05, 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास), जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रिड्स नेपाल (RIDS Nepal) को सहकार्यमा सञ्चालन गरिएको विशेषज्ञ कान, नाक तथा घाँटी (ईएनटी) स्वास्थ्य सेवा कार्यक्रमबाट १ हजार ३७ जना नागरिक लाभान्वित भएका छन्। कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका ईएनटीसम्बन्धी समस्याबाट पीडित ४३ जना बिरामीको  शल्यक्रिया गरिएको छ।

कार्यक्रमका क्रममा बेलायतस्थित मेडिकल एड इन्टरनेसनल (Medical Aid International, UK) को सहयोगमा करिब ८० लाख रुपैयाँ मूल्य बराबरको अत्याधुनिक जाइस (ZEISS) ईएनटी सर्जिकल माइक्रोस्कोपसहित अन्य आवश्यक चिकित्सा उपकरण तथा सामग्री प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ। उक्त उपकरणले प्रतिष्ठानको शल्यचिकित्सा क्षमता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा विशेषज्ञ ईएनटी सेवा विस्तार गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा इयर एड नेपालका डा. माइक स्मिथ, डा. डी.बी. लामिछाने, अमेरिकाका डा. विल डिटर तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ईएनटी विभागीय प्रमुख डा. अनुपम कोइरालासहित बेलायतकी अडियोलोजिस्ट एमा, रजिस्टर्ड नर्स ग्याब्रिएल र अमेरिकाका फिजियोथेरापिस्ट निल सहभागी थिए।

भौगोलिक विकटताका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका कर्णालीका नागरिकलाई आफ्नै क्षेत्रमा शल्यचिकित्सा सेवा उपलब्ध गराइनु महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यसले उपचारका लागि ठूला सहर धाउनुपर्ने बाध्यता र आर्थिक भार कम गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रमको सफलताप्रति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले सहयोगी संस्था, दाता निकाय, सहभागी विशेषज्ञ चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै यस सहकार्यले प्रतिष्ठानको स्वास्थ्य सेवा क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।