Karnali Academy of Health Sciences (KAHS)

Jumla, Karnali, Nepal

News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अत्याधुनिक कान शल्यचिकित्सा उपकरण हस्तान्तरण

Published on : Oct 31, 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अत्याधुनिक कान शल्यचिकित्सा उपकरण हस्तान्तरण

अन्तर्राष्ट्रिय नेपाल फेलोसिप (International Nepal Fellowship, UK – INF-UK) र ग्रामीण एकीकृत विकास समाज (RIDS Nepal) को सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लालाई कानसम्बन्धी उपचार तथा शल्यचिकित्सा सेवालाई थप प्रभावकारी बनाउन Zeiss Surgical Microscope for Otorhinolaryngology हस्तान्तरण गरिएको छ।

उक्त उपकरण हस्तान्तरण कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. बिनम्र बिष्टज्यू तथा INF-UK का तर्फबाट माइक सिमान्स्की (Mike Szymanski) को नेतृत्वमा आउनुभएको चिकित्सक तथा सहयोगी टोलीको उपस्थिति रहेको थियो। उक्त टोलीमा बेलायतका डा. माइक स्मिथ (Dr. Mike Smith), अमेरिकाका डा. विल डीटार (Dr. Will deTar), डा. डी.बी. लामिछाने, डा. डार्विन लामिछाने लगायत अन्य सदस्यहरू र KAHS बाट नाक कान घाँटी विषेशज्ञ Dr.अनुपम कोइराला र टिम सहभागी हुनुहुन्थ्यो

उक्त अवसरमा तीनवटै संस्थाबीच आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, विशेषज्ञ सेवा विस्तार र स्थानीय जनसमुदायलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेलगायतका विषयमा छलफल भएको थियो।

उपकरण हस्तान्तरणका लागि सहयोग गर्ने सम्पूर्ण संस्थाहरू तथा टोलीप्रति प्रतिष्ठानका निर्देशक डा. बिनम्र बिष्टले प्रतिष्ठानको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्तै सहयोग, सहकार्य र साझेदारी निरन्तर रहने विश्वास व्यक्त गर्दै यस अत्याधुनिक उपकरणको प्रयोगबाट जुम्ला तथा प्रतिष्ठानको सेवा क्षेत्रभित्र पर्ने दुर्गम क्षेत्रका सेवाग्राहीहरूले समेत गुणस्तरीय कानसम्बन्धी विशेषज्ञ उपचार तथा शल्यचिकित्सा सेवा प्राप्त गर्न सक्ने बताउनुभयो।

यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलिदेखि मंगलबार, २०८३ साल कात्तिक १७ गतेसम्म कानसम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले कानसम्बन्धी समस्या भएका सम्पूर्ण सेवाग्राहीहरूलाई प्रतिष्ठानमा उपस्थित भई विशेषज्ञ सेवा लिनसमेत उहाँले अनुरोध गर्नुभयो।

यस महत्वपूर्ण सहयोगका लागि INF-UK, RIDS Nepal तथा संलग्न सम्पूर्ण चिकित्सक एवं सहयोगी टोलीप्रति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हार्दिक आभार व्यक्त गर्दछ।

गुणस्तरीय स्वास्थ्य सेवा, दुर्गम क्षेत्रसम्म विशेषज्ञ उपचार।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला